रंगशाला निर्माणमा १ अर्ब ४३ करोड रकम खर्च

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुँदैछ । आउँदो मंसिर २ देखी ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने मिति पनि तय भइसकेको छ । तर समय नजिकिँदै जाँदा प्रतियोगिता तोकिएको मितिमा हुनेमा आशंका पनि बढ्दो छ । यहीकारण तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न दबाब दिने उदेश्यले दिनगन्ती पनि सुरु गरिएको छ ।
सरकार परिवर्तन र राजनीतिक स्वार्थका कारण प्रतियोगिता तोकिएको मितिमा हुनेमा आशंका रहेपनि कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्नका लागि आवश्यक कसतर भइरहेको छ । कर्णालीले पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ । यसकारण पनि कर्णाली यतिबेला भौतिक पूर्वाधार र खेलाडीको अभ्यास लगायतका पूर्वतयारीमा जुटिरहेको छ । हालसम्म राष्ट्रिय प्रतियोगिता नभएको कर्णालीले दशौं खेलकुदलाई प्रतिष्ठाको रुपमा लिएको छ । यसकारण पनि प्रदेश सरकारका लागि प्रतियोगिता सम्पन्न गर्नुपर्ने दायित्व छ ।
प्रतियोगिता सफल बनाउन तयारी स्वरुप प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा लिएको यो रंगशालाको हालसम्म ९० प्रतिशत भौतिक काम सम्पन्न भइसकेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार प्रतियोगिता अगाडि नै रंगशालामा बाँकी रहेका काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल भन्छन्,‘भौतिक पूर्वाधारको अभावमा अब प्रतियोगिता रोकिने अवस्था छैन, हामीले आवश्यक पूर्वाधार तयार पारिसकेका छौं । प्रतियोगिता संचालनका लागि मुख्य मेरुदण्ड प्रदेश रंगशाला नै हो, यसको पनि ९० प्रतिशत काम सकिएको छ ।’
रंगशालामा केही काम बाँकी रहेको र त्यो काम पनि असोजभित्र सम्पन्न गर्नेगरी काम भइरहेको उनले बताए । उनका अनुसार अब रंगशालामा फिनिसिङ र कभर्डहलको छानो निर्माणको काम मात्र बाँकी छ । रंगशाला निर्माणमा हालसम्म १ अर्ब ४३ करोड रकम खर्च भइसकेको छ । सदस्यसचिव सञ्ज्याल भन्छन्,‘भौतिकसँगै आर्थिक प्रगति पनि ९० प्रतिशतभन्दा माथि नै छ, दशौं खेलकुदका लागि नै हामीले दिनरात लगाएर काम गरेका छौं । अब कर्णालीका कारण प्रतियोगिता रोकिदैन, भौतिक पूर्वाधारको अभाव देखाएर प्रतियोगिता सार्न पनि कसैले पाउँदैन ।’ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न मिल्नेगरी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको काम सुरु गरिएको थियो । रंगशाला निर्माणका लागि २०७८ कार्तिक २८ गते सम्झौता भएको थियो । एमएसी एण्ड जीएसएल जेभी कम्पनीले रंगशाला निर्माणको जिम्मा लिएको छ ।
 वीरेन्द्रनगरमा निर्माण कार्य अन्तिम चरणमा पुगेको यो रंगशालामा १० हजार दर्शक अट्नेछन् । यही रंगशालामा अन्तर्राष्ट्रिय स्तरको भलिवल खेल मैदान, स्वीमिङ पुल, फुटवल, ह्याण्ड वल, बास्केट वल र एथ्लेटिक्स लगायतका प्रतियोगिता संचालन गर्न सकिनेछ । १ अर्ब ५९ करोडमा रंगशाला निर्माणका लागि ठेक्का सम्झौता भएको छ । त्यसमा हालसम्म १ अर्ब ४३ करोड रकम बराबरको काम सम्पन्न भइसकेको परिषद्ले जनाएको छ । ठेक्का सम्झौता अनुसार आउँदो फागुन २ गतेभित्र रंगशाला निर्माणको काम सक्नुपर्ने उल्लेख छ । तर दशौं खेलकुदका लागि धमाधम काम गरिएका कारण सम्झौता मिति अगाडि नै रंगशाला निर्माणको काम पनि सम्पन्न हुन लागेको सदस्यसचिव सञ्ज्यालले जानकारी दिए ।
क्रिकेट मैदान पनि तयार
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा क्रिकेट मैदान पनि तयार भएका छन् । कर्णालीमा एकैसाथ तीन वटा मैदान तयार भएका हुन् । क्रिकेट प्रतियोगिता संचालनका लागि हालसम्म कर्णालीमा गतिलो मैदान थिएनन् । तर दशौं खेलकुदका लागि लक्षित गर्दै सुर्खेतमा दुई वटा र रुकुमपश्चिमा एउटा क्रिकेट मैदान निर्माण भएका हुन् ।
प्रदेश खेलकुद विकास परिषद्का अनुसार सुर्खेतको वीरेन्द्रनगरमा दुई वटा मैदान तयार भएका छन् । कालिञ्चोक र रंगशाला नजिक गरी दुई वटा मैदान तयार भएका हुन् । परिषद्का अनुसार कालिञ्चोक क्रिकेट मैदानमा पुरुष क्रिकेट प्रतियोगिता संचालन हुनेछ । यस्तै रंगशाला नजिकको क्रिकेट मैदानमा भने महिला क्रिकेट प्रतियोगिता संचालनको तयारी छ । यस्तै रुकुमपश्चिमको चौरजहारीमा निर्माणाधिन क्रिकेट मैदानलाई पनि प्रशिक्षणको रुपमा प्रयोग गरिनेछ ।
कालिञ्चोक क्रिकेट मैदान निर्माणमा ७३ लाख १८ हजार ३३७ रुपैयाँ खर्च भएको छ । यो मैदान निर्माणका लागि गत बर्ष मंसिर १५ गते केपीडीडी कन्ट्रक्सनसँग सम्झौता भएको थियो । यो मैदान निर्माण भएर प्रतियोगितासमेत संचालन भइसकेको छ । यस्तै रंगशाला नजिक निर्माण भएको क्रिकेट मैदान पनि केहीदिनमा संचालनमा आउने परिषद्ले जनाएको छ । यो मैदान निर्माणका लागि ४ करोड ५९ लाख ८० हजार ४७१ रुपैयाँमा अभियान कन्ट्रक्सन काठमाण्डौले जिम्मा लिएको थियो । यो मैदानको काम पनि सम्पन्न भएको परिषद्ले जनाएको छ ।
 परिषद्का सदस्यसचिव सञ्ज्याल भन्छन्,‘कालिञ्चोक मैदानमा पुरुष क्रिकेटको प्रतियोगिता हुन्छ, रंगशाला नजिकको मैदानमा भने महिला क्रिकेटको प्रतियोगिता संचालन गर्नेछौं ।’ चौरजहारी क्रिकेट मैदान निर्माणका लागि ५० लाख रकम उपलब्ध गराइएको थियो । हाल यो मैदानमा घेरबारको काम सम्पन्न भए पनि केही काम भने बाँकी नै छन् । यो मैदान पनि चाँडै निर्माण गरेर क्रिकेटको प्रशिक्षणका लागि प्रयोग गर्ने योजना रहेको सञ्ज्यालले सुनाए । क्रिकेट प्रतियोगिता संचालनका लागि पनि अब कर्णालीमा समस्या नरहेको उनले बताए ।
‘दशौंमा स्वर्णको संख्या दुई अंकको हुन्छ’
अघिल्लो बर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २ वटा स्वर्ण पदकमा चित्त बुझाएको थियो । तर आफ्नै प्रदेशमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने स्वर्ण पदकको संख्या बढाउने लक्ष्य कर्णालीको छ । कम्तिमा पनि दुई अंकको स्वर्ण पदक हात पार्ने गरी तयारी भइरहेको कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको    छ ।
परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले भने,‘नवौं खेलकुदमा हामीले २ वटा मात्र स्वर्ण जितेका थियौं, तर अब त्यो संख्या बढाउने हाम्रो लक्ष्य छ । यसका लागि खेलाडीलाई तयार गरिरहेका छौं, कर्णालीमा हुने दशौं खेलकुद प्रतियोगितामा दुई अंकको स्वर्ण जित्ने छौं ।’ दुई अंकको अर्थात १० वटा भन्दा बढी स्वर्ण पदक जित्ने लक्ष्यसहित कर्णालीले तयारी गरिरहेको छ । उनका अनुसार यसका लागि प्रदेश सरकारसँग आवश्यक बजेटसमेत माग गरिएको छ । खेलाडी तयार गर्नका लागि आफूहरुले प्रदेश सरकारसँग १६ करोड बजेट माग गरेको उनले बताए । उनका अनुसार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्री बनेपछि पहिलो निर्णय नै गरेर यो बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयमा माग गरिसकेका छन् । यो बजेट आएमा खेलाडी तयार पार्न र अभ्यास गराउन सहज हुने उनको भनाइ छ ।
सामाजिक विकास मन्त्रीको सक्रियता
कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउनका लागि सक्रियता बढाएका छन् । प्रतियोगिता सफल बनाउनका लागि उनले मुख्यमन्त्री यामलाल कँडेल र आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहसँग समन्वय गरिरहेका छन् । उनी भन्छन्,‘यो प्रतियोगिता कर्णालीमा आयोजना गर्नु ऐतिहासिक अवसर हो, यसलाई सफल बनाउन सरकारले सबै उपाय लगाउँछ । प्रतियोगितालाई सफल बनाउन खेलकुदसँग सम्बन्धित जानकार र खेलाडीलाई बोलाएर बृहत सम्मेलन गर्दैछौं, यसले प्रतियोगिता सफल बनाउन सहयोग गर्नेछ ।’
 यसैबीच खेलकुदमा अपाङ्गता भएका व्यक्तिहरूले समेत भाग लिने भएकोले उनीहरूलाई आवश्यक पर्ने सामग्रीको जोहो गर्न माग गरिएको छ । सामान खरिद गर्न करिब ४५ दिन लाग्ने भएकोले यसबारे गम्भीर भइदिन अपाङ्गता भएका खेलाडीले सामाजिक मन्त्री भण्डारीसँग आग्रह गरेका हुन् । नर्मल ह्वेल चियर र खेल ह्वेल चियर फरक हुने र विदेशबाट ल्याउनुपर्ने भएकाले मन्त्रीलाई गम्भिर हुन आग्रह गरेको उनीहरुको भनाइ छ । खेल चियरको अभ्यास गर्न पनि समय लाग्ने भएकोले तत्काल रकम उपलब्ध गराइदिन र सामग्री खरिद गरिदिन आग्रह गरेको किशोर शाहीले जानकारी दिए । सोही अवसरमा मन्त्री भण्डारीले आर्थिक मन्त्रालयमा आवश्यक रकम विनियोजनका लागि पत्राचार गरिसकेको जानकारी दिए । साथै उनले दशौं खेलकुदलाई सफल बनाउन आफूले सक्दो पहल गर्ने बताए ।
२४ वटा खेल संचालन गर्न प्रस्ताव
कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितमा जम्मा २४ वटा खेल संचालन गर्न प्रस्ताव गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई यो प्रस्ताव गरेको हो । कर्णालीमा उपलब्ध भौतिक संरचना र क्षमताका आधारमा २४ वटा खेलमा मात्र प्रतियोगिता गराउन सम्भव हुने भन्दै परिषद्ले यो प्रस्ताव गरेको हो । गतबर्ष गण्डकीमा सम्पन्न नवौं खेलकुदमा भने विभिन्न ३६ वटा खेल संचालन भएका थिए । तर कर्णालीमा सबै खेल खेलाउन सम्भव नभएकाले २४ वटा खेलमा मात्र प्रतियोगिता गर्न प्रस्ताव गरिएको परिषद्का सदस्यसचिव विश्वामि सञ्ज्यालले बताए । उनका अनुसार बाँकी १२ वटा खेलका प्रतियोगिता कर्णाली बाहिर संचालन गर्नसमेत सुझाव दिइएको छ । कर्णालीमा हाल उपलब्ध भौतिक पूर्वाधार र संरचनाले नधान्ने भएकाले बाँकी खेलहरु संचालन गर्न नसकिने जानकारी राखेपलाई गराइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार